आज बिहानै मन एकतमासको भैइरहेको छ ।

2:18 AM Posted In
 बिना तामाङ लामा
बाहिर पानी परेर होला चिसो चिसो अनुभव हुदँछ। बाहिर निस्कनै मन लागेको छैन। रात्रीको शित झरेर गएपछिको मिर्मिरे बिहानीलाई स्वागत गर्न मनले भनिरहे पनि तनले साथ दिरहेको छैन । शरीर आलस्य भएको छ। खै किन किन यो मन आज केहि खोजीरहे झै अनुभव गर्दैछु । अनि पुर्वपट्टीको झ्यालमा बसेर सुर्यदय हेर्दै तातो चियाको सुर्को संगै अतितमा विलिन हुनपुगिरहेछु । मेरो यो मन् जता लगे पनि गैइदिन्छ । समय पो मान्दैन त पछाडी फर्केर जानलाई यो मन त एकै छिनमा स्वीजरल्यण्ड अनि एकै छिनमा काठमाण्डौं उडान भरिदिन्छ। यति छिट्टो उड्ने मेरो मन आज १४ वर्ष पछाडी पनि जान किञ्चित आनाकानी गरेकी छैनन् ।

मेरो एक इशारामा वायुपंखी घोडामा चढेर उडिहाल्छ। निमेष भरमै पुगिहाल्छ मेरो जन्मघर हेटौडा जहाँ मैले मेरो १६ वटा बसन्तहरु बिताएकी थिएं ।जहाँ मैले शरदको शित अनि ग्रीष्मको प्रचण्ड ताप तापेको थिएं ।
मेरो मनलाई हेटौडाले चिनिहाल्छ र आलिगंनमा झ्वाप्प हाल्छ ।मेरो मन दंङ्ग पर्छ यो आत्मियताबाट अनि फर्केर मलाई हेर्छे ।
मेरो मन त्यो आलिगंनबाट घनिभुत हुन्छे ।त्यो न्यानो स्नेहको स्पर्शले भक्कानिएर रुन्छे।”तिमी यतिका वर्ष सम्म कता गएकी थियौ? हेटौडाको यस्तो प्रश्नले झनै मेरो मन मैने पिघ्लेझै पग्लीएर गल्न खोज्छे । म मेरो मनलाई ” तिमी साहसी छौ, भावनामा नबग,आँट गर ।
एकपटक आफ्नो शिर उठाएर त हेर मैले खेलेका,घुमेका उमङ्गले छाँद हालेका दृश्यहरु दृष्टीगौचर गर त। ” भन्छु। अनि मेरो मन बलियो भएर” म त कर्मभुमीमा जीवनयात्रालाई अगाडी बढाउन धेरै टाढा गएकी छु। अब बेला बेलामा तिमीलाई भेट्न आउने छु।” भनिदिन्छ।
मेरो प्यारो स्वर्ग जस्तै हेटौडा मुसुक्क हाँसिदिन्छ र स्वप्निल संसारमा झै काल्पनिक पुष्पवर्षा गरिदिन्छ मेरो मन हिड्ने गोरेटोहरुमा।अब मेरो मन त्यो पुष्पविक्षित गोरेटोमा आफ्ना नरम नरम चालहरु कुनै अप्सराको मादक चाल झै हिडिदिन्छे ।
चारैतिर रौनकता छाएको छ,बसन्त ऋतुको आगमनले होला वातावरणमा एककिसिमको मादकता पाउँछे मेरो मनले।
ईन्द्रनगरीमा पुगेको भान गर्छे मेरो मन।
एकैछिन त अलमल्ल पर्छे कताबाट यात्रा शुरुवात गर्ने अनि कतातिर जाने भनेर मेरो मन अनि म उसलाई प्रथमत: मेरो जन्मघर पो जानु पर्छ भनिदिन्छु । जुन घरमा मेरा अतितहरु लुकेका छन् अनि मेरा बाल्यकालका त्यो निर्दोष खित्काहरु गुञ्जयमान छन्।
अब मेरो मन अगाडी अगाडी अनि म पछि पछि लामसुरे-९ को श्री प्रगती उच्च माध्यमिक विद्दालयको ठिक अगाडीको त्यो सानो घर भित्र उत्साहले प्रवेश गर्छौ ।
“अहं कोहि पनि चिनेको भेट्दिन त!” मेरो मन अत्यासिएर भन्छे।
म सान्त्वना दिदैँ मेरो मनलाई” पहिले म सानो छदाँ दौडेने गरेको त्यो बाहिरको कोरीडोर त हेर। मैले पानि हालेको फुलको गमलाहरु त सुम्सुम्याउ, अनि मैले माया गरेर रोपेको त्यो पारीजातको बोट त हेर कति बुढा भैइसकेछ तर पनि फुल्न छोडेको छैन।” भन्छु ।
“अहो! यी हेर त गमलामा भएका फुलहरु त सुकिसकेछन् ,” मेरो मन अतालिन्छे।
साँच्चै नै पानी हालिदिने कोहि नभएर होला बिरुवा त सुकिसकेछन्। म जस्तै यो बिरुवा पनि सुख्खा र बंजर भएछ।
“भयो उठ उ उता हेर त त्यो लामो बारीको पाटा मकैका पातहरु लहरिदैँछन्। ” हरिया भएको बारीलाई देखाउँदै म मेरो मनलाई फकाउने प्रयत्न गर्छु।
मनै त हो एकैछिनमा फकिन्छे। अनि दौड्दै जान्छे त्यो मकै बारी हेर्न ।” हेर त यो त्यहि बारी हो जहाँ म मेरा साथीसंगीहरु संग हिउँदमा मकैको ढोड बालेर गुन्द्रुक र भात पकाएर बनभोज खान्थें । मेरो मन फुरुङ पर्छे अनि कौतुहलताका साथ चारैतिर आफ्नो नजर लाउँछे।
उ फेरी एकपटक त्यो बारीमा वनभोज खान लालायित हुन्छे ।
बरा ! मेरो मनलाई के थाहा त्यो बारीमा वनभोज खानलाई हिउँद आउनु पर्छ अनि ति साथीसंगी अब म संग छैनन् को सगं वनभोज गर्ने? उ निराश हुन्छे।” हुन्छ अब हामी यहाँबाट हिड्नुपर्छ हेर त घर अगाडीको त्यो ठुलो स्कुल त्याहाँ जाउ । त्यो ठुलो चौर अनि मेरा सहृदयी गुरुहरुलाई नमन:गर” म मेरो मनलाई भन्छु।
“साँच्चै हो? अहो! म अहिले नै पुगिहाल्छु।” मेरो मन निमेष भरमै छलांङ् मार्दै स्कुल हातामा प्रवेश गर्छे।
“कता जाउँ?एकैछिन घोत्लिन्छे मेरो मन अनि कुनै जादुई चुम्बकले तानिएझै स्कुलको अफिसतिर बिस्तारै तानिन्छे मेरो मन ।”अहो! खै त कोहि नि चिन्दिन त म।” मेरो मनले भन्छ ।म उसलाई “उ त्यता हेर त्यो अग्लो कदको सर हो उहाँ निरञ्जन् सर,अलिकपरको सानो कदको गोरो सर चै कमल सर हामीलाई गणित पढाउनु हुन्थ्यो ।
अनि अनि त्यो हट्टाकट्टा चाँहि खेलकुद खेलाउने आनन्द सर… बाँकि रह्यो त्यो काले काले फुच्चे सर चै अग्रेजी पढाउने टेकनारायण सर।ईन्दिरा म्याडम,चन्द्रमाया मिस अनि अरु चाँहि मैले नि बिर्से ” म लज्जित हुदै भन्छु ।
“हुन पनि यतिका वर्ष भैसक्यो कसरी सम्झना रहन्छ।”मेरो मनले मेरो तरफदारीमा बोलिदिन्छे म हर्षित हुन्छु।
“लौ भयो अब बाहिर हेर त उ त्यो बर पिपलको बोट अनि त्यसमुनिको ठुलो घण्टी ।
कति खेर त्यो घण्टी रामुदाईले बजाउनु हुन्छ र घर हुररे भन्दै दौडन पाईन्छ भनेर बडो व्यग्रताका साथ पर्खने समयसुचक!। एकपटक त्यो घण्टीले दिनेशको औंला च्याप्दा कति छिटो मैले बोकेर मेडिकल पुर्‍याएको थिएं। कति पिडाले छ्ट्पटाएको थियो । त्यो घटना अझै ताजा यो मष्तिस्कमा अनि दिनेश अहिले पनि कहिलेकाँहि म प्रति नतमस्तक हुन्छ। ” म आफैमा हराउँदै मेरो मनलाई भन्छु।
मेरो मन एकोहोरिन्छे। “ए मन” उ झस्याङ हुन्छे ।
त्यो वरको बोट हेर त म त्याहाँ कति चढ्थे अनि टुप्पामा पुगे पछि ओर्लन नसकेर रुन्थे। मेरो मन मैले यसो भन्दा मास्तिर हेर्न पुग्छिन् ।त्यो बुढो रुखलाई हेर्दै” अनि कसले ओरालिदिन्थ्यो त?”भनिहाल्छे।
“साथीहरु आउँथे अनि म बसेको हाङ्गाँ बिस्तारै लस्काईदिन्थे। म त्यो लस्केको हाङ्गाबाट सुरुरु तल झर्थे अनि कुनै युद्धको रणभुमीबाट जितेर फर्किएको योद्द झै अनुभव गर्न पुग्थें।”म पुलकित हुदैँ मेरो मनलाई भन्छु।
“आहा! तिम्रा साथीहरु कति जाती है?” मेरो मनले यसो भनिरहदाँ म सम्झनाको तरेलीमा तैरीन पुग्छु ।
मितिनी।सम्झना,मेनुका।प्रकाश,कुमार ,दिनेश,प्रहलाद,उमेश,रुद्र,बिजमाया,रमला,प्रमिला,सरीता,सन्तोस,अनिता,जुनेजु,शुसिल दादा,मदन दाई,दिपक,पुनम,रमन ,गौरी दिदी,ज्ञानु ,दिपेन्द्र ,किरण ,रोशन लगायत अन्य थुप्रै साथीहरु मेरो सम्झनाको तरेलीमा पौडिदै छन् यतिबेला।
खै के गर्दै होलान् ? कहाँ होलान् ? जस्ता यावत प्रश्नहरुले मलाई रिङ्याउने गर्दछ।
“तिमी हराउन थाल्यौ?” मेरो मन मलाई प्रश्न गर्छे । म सम्झनाको दुनियाँबाट यथार्थको धरातलमा अवतरित हुन्छु।
मेरो मन अन्त कतै डुल्न आतुर छे त्यसैले यति हतारिएकी छे । म उसलाई फेरी त्यो माथीको डाँडामा लैजान्छु
जहाँ शुसिल दादाको लिच्चि र आँपको गाछीहरुको ठुलो बगैँचा छ ।
“अरे! आँप र लिच्चिका दानाहरु पो लागिसकेछन्।” मेरा आँखाहरु विस्मयले खुलै रहन्छन् । साँच्चै नै बैशाख त सकिनै पो लागेछ त म त होशप्रसाद नै भैसकेकी छु ।मनमनै हाँसो लाग्छ आफ्नो हुस्सुपना देखेर।
अब म र मेरा मनका नजरहरु शुशिल दादालाई खोज्न आतुर हुन्छन्।
चराहरुको आवाज गुञ्जयमान छ बगैँचामा ” तर खै त भेट्दिन त शुशिल दादालाई ” मेरो मन म भन्दा पहिले नै हरेश खाईसक्छे। विचरा! मेरो मनलाई के थाहा शुशिल दादा त नेपालको बेरोजगारीको समस्याबाट अछुतो रहन नसकी बैदेसिक रोजगारीको लागि जानुभएको छ भनेर । अब मेरो मनलाई एकछिन पनि त्याहाँ बस्न मन भएन र हुरिन आँट्छे ।
” एकैछिन त आराम गर । शुशिल दादा नभएर के भो त उ त्याहाँ हेर त प्रचण्ड गर्मीमा त्यो तातो छल्न हामीले शितल महशुस गर्ने आँपका गाछीहरु, अनि काँचा आँप नुनमा चोपेर खाँदै गफिएका ,खित्का छाडी छाडी छोईडुम खेल्दै दौडिएका पलहरुको अनुभुती गर त” म यसो भन्छु मेरो मनलाई अनि मेरो मन पनि घुटुक्क थुक निल्छे ।
मेरो मन अब बाँकी पलहरु त्यहि गाछीमुनि बिताउन चाहन्छे । तर बिडम्बना यात्रा त निरन्तर चलिरहनु पर्छ। कुनै बिन्दुमा त पुग्नै पर्छ। म मेरो मनलाई सानो दुधे बालकलाई झै लोभ्याउन खोज्छु ।
“अब हिडं म तिमीलाई त्यो परको सिमेण्ट कारखाना पछाडीको कुखरेनी खोलामा पौडनको लागि लैजान्छु।”मैले यति भनि सक्दा मेरो मन् फुरुङ पर्छे कुनै सानो नानीलाई पुतली किनेर दिए जस्तै गरेर।अनुहारमा कान्ती छाउँछ र निमेष भरमै म भन्दा एक हात अगाडी हुत्तिएर खोलाको किनारमा पुग्छे।
“उ त्याहाँ हेर त हामी गर्मीमा छुट्टीका दिनहरुमा पौडी खेल्न आउने ठाउँ ” म भन्छु। मेरो मन त एक्कासी झ्वाम्म फाल हालिहाल्छे त्यो खोलामा।
“आहा! कस्तो शितल,कस्तो रोमाञ्चक अनुभुती हुदँछ।”मेरो मन तैरिरहन्छ।
“तर हेर त उ पर मोटर पो आउँदैछ त यो खोलाको बाटो भएर।” मेरो मन कति छिट्टो उफ्रीएर म भएको ठाउँमा आईपुग्छे।
” हो त अघि पौडदै गरेको खोलामा त मोटर पो गुड्दै छ त । ” मेरो मन आखाँ माडी माडी हेर्छे । उसलाई विश्वास नै हुदैन कि त्यो ठुलो खोला त आजकल मोटर गुड्ने बाटोमा पो परिणत भैसकेछ। समयले काँचुली फेरीसकेछ।
हामी हतप्रभत हुन्छौं।
“जाउँ अब फर्किऔं” मेरो मनलाई म विनम्र अनुरोध गर्छु।उ मेरो अनुरोधलाई सहर्ष स्वीकार्छे।
“अब कता जाने त ” सायद मेरो मनलाई हेटौडा छाड्ने भयले समातेछ क्या रे यसो भन्दै न्याउरिन्छे।
“तिमीलाई अझै जाने मन छैन रहेछ।त्यसो भए हिंड H I T तिर जहाँ म १२ महिना नै साईकल कुदाउँथे जुन मेरो बा ले माया गरेर ५ कक्षामा द्दितिय स्थान प्राप्त गर्दा ल्याईदिनुभएको थियो।
चिल्लो पिच सडकको छेउ छेउलहरै बार झै गरि उभिएका शिरिषका फुलका रुखहरु अनि त्यसमा ढकमक्कफुलेका फुलहरु सडकभरि आफ्नो यौवन ओछ्या झै गरि झरिरहेका हुन्थे।म त्यसमाथि लडिबुडी गरेर पल्टन्थें।
अनि ठुला ठुला स्वर निकालेर आफ्नै स्वर प्रध्वनित गर्दै चिच्याउँथे। म साईकल लिएर त्यहि रुखमुनि हुदैँ पिच सडकमा कुदाउँदै कहिले कमाने पुग्थें कहिले दुध डेरी र डाल्ढा फ्याक्ट्री पछाडी सम्म पुग्थ्ं जहाँ खरी चक पाउँथ्यो। म ती खरी चक खल्तीभरी हालेर ल्याउँथे।
मैले यसो के भनेथें मेरो मन उल्लासले उडिहाल्यो। केहि भन्नै भ्याइन। म उसलाई पछ्याउदैँ जान्छु।ठुलो हनुमानको मुर्ती औधौगिक क्षेत्रको गेटमै छ ।मेरो मन त्यो देखेर प्रफुल्लित हुन्छे र गएर ढोग्छे । मेरो शिर पनि आफै निहुरिदिन्छ नतमस्तक भएर ।
मेरो मन अब तेज कान्ती छाएकी स्वर्गकी जादुगर्नी झै देखिन्छे । म पट्टी फर्किएर मन्द मुस्कान फाल्छे अनि ती शिरिषका फुलहरु आफ्नो पोल्टाभरी हाल्न लालायित हुन्छे।
मेरो अनुमतिको पर्खाईमा रहेकी मेरो मनलाई म तुरुन्तै स्वीकारोक्तीको सुचना दिन टाउको हल्लाउँछु। कह्कोर फुल झै पत्रीएर मेरो मन मलाई हल्का चुम्दछे । अनि झरेका ती शिरिषका फुलहरु बटुल्न थाल्दछे । लगतै खुला आकासतिर हेरेर मुस्कुराउँ छे। विजयीभाव देखा पर्दछ उनको मुहारमा । बिचरा! मेरो मनलाई के थाहा त्यो खुसी ,उमङ केहि छिनको लागि मात्रै हो । हामी त पाहुना मात्रै हौं । फेरी फर्किएर उहि धुलो धुवाँ अनि स्वार्थ व्याप्त काठ्माण्डौ मै फर्किनु पर्छ भनेर ।पुरै जीवन यतै बिताउनु पर्छ कठोर संघर्ष गर्दै । यो नै कटु सत्य हो।
तर यी कुराहरु मेरो मनलाई भन्न म डराउँछु।
आज मेरो मन संग्लिएकी छे, सुन्दरीको कालो केश झै सलल बग्दैछे । तरङ्गित भएकी छे । यसलाई यस्तो हालमा हेर्ने मेरो वर्षौको रहर बल्ल आज पुरा हुदँछ् ।
तर यथार्थबाट कोहि पर भाग्न सक्दैन । मेरो आकांक्षाहरु अब एकछिनमा टुट्नेछ जति बेला म मेरो मनलाई घर फर्किन अनुनय गर्नेछु।
अब म बिस्तारै मेरो मनलाई कल्पनाको संसारबाट तल झार्ने कोशिस गर्दैछु । सत्य यहि हो कि हामीले हेटौडा धेरै वर्ष अगाडी बाध्यताबश छाडीसकेका छौ ।अब हामी चाहेर पनि त्याहाँ बस्न सक्दैनौं । यहि यथार्थ हो र यहि ध्रुर्व सत्य पनि हो।
म देख्दैछु मेरो मनको मुहारमा कालो बादल मडारिँदैछ । सायद अब एकछिनमा घनघोर वर्षा हुनेछ अनि भेलबाढी उर्लनेछ । म मेरो मनलाई भावबिभोर भैइ झ्वाप्प आलंगिन गर्दछु ।
“यहि संसारको रित हो कहिले मिलन कहिले बिछोड । हाम्रो बिछोड पनि हेटौडासंग भएको छ तर ती यादहरुलाई मनभरि संगालेर राख । मनको मझेरीमा सदैव उच्च स्थान देउ।” मैले यसो भनिरहदाँ मेरो मन् भावुक हुन पुग्छे।
अनि हामी दुबै भक्कानिएर रुन्छौं । आशुँका तर्पण दिन्छौ । त्यो आँशुको भेलले हामी पखालिन्छौ । कञ्चन हुन्छौ।
अब हामी यथास्थितीमा आउंछौ र मनभरी सम्झनाका पानाहरु बोकेर आफ्नै गन्तव्यस्थान काठमाण्डौ फर्किन्छौ।
उहि परिवेशमा जहाँ न बालसखा छ न बालसुख छ । छ त केवलकठोर गन्तव्यहिन यात्रा जुन जसरी भएपनि पार गर्नै पर्छ। तर पनि हरेश खाएका छैनौं । म र मेरो मन यो अनवरत यात्रा संगै तय गर्ने प्रण गर्दछौं।