पदमपुरको यात्रा

2:39 AM Posted In
 दिपेन्द्रकुमार जोशी ‘निक’
बाबु ! तेरो बाजेले मलाई जमानामा हातमुख जोर्न दुःख पर्यो भनेर पिपरिया (पदमपुर) मा दुई विगाहा जग्गा दिनुभएको थियो । सोचेकी थिएँ अब हाम्रो दुःखका दिनहरू गए, तर होइन रहेछ । केही वर्ष त्यहाँबाट आएको धानले एकछाक भए पनि खान पुगेको थियो, तर दैवको मार भनौँ या पुर्पुरोमा नलेखेकोले हो त्यही जमीन पनि रापतीले खाइहाल्यो ।”
 म सानो छँदा यी यस्तै कुराहरू गरेर मेरो आमाले आफ्नो मनको बोझ मसँग हल्का गर्नु हुन्थ्यो । तर मैले भने आमाका ती कुराहरूको भेउ राम्रोसँग ठम्याउन भने सक्दैनथेँ । म मनमनै गुन्ने गर्थें — यो पिपरिया भनेको के हो ? विगाहा भन्ने कुन जन्तुको नाम होला ? दैव भन्ने हाम्रो किताबमा भएको कथाको राक्षस त होला नी ! जसले हाम्रो जग्गा खायो । रापती भनेको चाहिँ पक्कै पनि त्यो मेरो दशपैसा हजम पार्ने माई (हाम्रो घरसँगै एउटा पान पसल थियो जसको मालिक्नीको नाम माई थियो जसकहाँ मैले मालागेडी मिठाई किन्न जाने गर्थें तर पैसा दिन मान्दैन थिएँ, त्यसैले उनीले मेरो पैसा जबरजस्ती खोस्नु पथ्र्यो) नै हुनुपर्छ आदि आदि । मेरो मनमा जे–जस्तो कुरा खेले पनि मैले एउटा कुरा भने निकै नजिकबाट बुझेको थिएँ त्यो के भने — त्यसबखत हाम्रो पारीवारिक स्थिति ज्यादै दयनीय थियो ।
 समयले फड्को मार्दै गयो । म पनि दुनियाँ दारी बुझ्नसक्ने भएँ । त्यसैबखत एउटा हल्ला चल्यो ँसरकारले पदमपुरको सट्टामा कुन्नि कुन ठाउँमा हो जग्गा दिने रे !” त्यस हल्लाले मेरी आमाको बुढ्यौली मुहारमा हर्षका रेखाहरू देखा परे । आमाले ँमैले सुनेको कुरा झुठो हो कि साँचो हो गएर यस्सो बुझ्न, केही उपाय लाग्थ्यो कि ?” भनेर अह्राउनु भयो । म र अरू दाजुहरू मिलेर पत्ता लगाउने प्रयासमा लागेँ । त्यहाँ जग्गा हुनेहरूसँग बुझेँ । सबैले एकै जवाफ दिए — ँबाबु ! तिमीहरूले सुनेको जस्तै हामीले पनि सुनेका छौँ, त्यसैले पदमपुर गा.वि.स.मै गएर बुझ न ।”
 लौतनि भन्दै म, मेरो एक दाजु, साथमा सानीमाँको छोरालाई लिएर साइकल चढी लाग्यौँ पदमपुरतिर । म पदमपुर पहिलो पटक जाँदै थिएँ त्यसैले बाटो कस्तो छ ? कति टाढा जानुपर्छ ? जानलाई के कस्तो साधन उपयोग गर्नुपर्छ ? केही थाहा थिएन, त्यसमाथि सम्ममा मात्र साइकल चलाएको बानी मेरो हविगत के भयो होला तपाईं अनुमान लगाउनुस् त ! जान डराउँछ भनेर मेरो दाजुले पनि त्यहाँको भौगोलिक स्थितिबारे जानकारी दिनुभएन । सौराहाचोक हुँदै साइकलमा ग्रावल र जोल्डिड्डमा उफ्रिदै, खोलामा ओछ्याइएका साँघुरो काठेपुल तर्दै पदमपुरतिर हानियौँ । त्यतिबेला मलाई पिडौला फर्कने समस्याले हैरान पारेको थियो । बल्लतल्ल सौराहा पुगियो । त्यहाँ मेरो सानीमाँको छोराको एक साथी बस्दारहेछन्, उनले त्यस भेगमा जङ्गली हात्तीले निकै उत्पात मच्चाइरहेको कुरा बताए । मन ढक्क फुलेर आयो । हामी फसादमा पर्यौँ — यत्रो बाटो काटेर आइयो, अब फर्कने कि के गर्ने ? ह्या ! जे पर्लापर्ला भनेर हामी लाग्यौँ पदमपुरतर्फ । सौराहाबाट पदमपुर जान रापती तर्नुपर्ने रहेछ, त्यो पनि डुङ्गामा । खोला तारिदिए बापत प्रत्येक अगन्तुकसँग पाँच रूपैयाँ शुल्क लिने नियम रहेछ । हामी सबै डुङ्गामा साइकलसहित चढ्यौँ, त्यहाँ त आफूलाई सन्तुलित गर्ने कि साइकल समात्ने भनेर समस्या पो पर्दोरहेछ । त्यसमाथि खोलाको प्रकृति पनि अचम्मको रहेछ, कहिले त्यहीं ठाउँमा खाल्टो पर्ने त कहिले बालुवाको डिस्को बन्ने । जे भए पनि घुरमुर हुँदै खोला पनि तरियो । त्यसपछि आयो बलौटे बाटो, जहाँ साइकल चलाउनु भनेको पहाड चढ्नु जत्तिकै हुँदोरहेछ । जसोतसो गरेर पुगियो पदमपुरको गा.वि.स. भवन । जहाँ सोधखोज गर्दा त्यहाँका आधिकारीक व्यक्तिहरूले यसो भने — तपाईंहरूले सुन्न भएको ठीकै हो, तर त्यसको लागि टाइम धेरै लाग्न सक्छ, तपाईंहरूले आफ्नो जग्गाको मालपोत भने बुझाउँदै गर्नुहोला ।” । ‘लोभले लाभ, लाभले विलाप’ भन्ने उखानलाई बिर्सेर हामीले खोलाले लगिसकेको जग्गाको मालपोत धरी तिरेर आयौँ ज्यानै जोखिममा पारेर भए पनि ।
 लखतरान पर्दै घर पुग्यौँ । सम्पूर्ण वृत्तान्त सुनेपछि आमाले खुशियाली प्रकट गर्दै जिस्क्याउने भावले भन्नुभयो ँतिमीहरूको पनि भाग्य फुर्ने भयो कि कसो हो ?” । हामी पनि मख्ख पर्दै सुखद् भविष्यको कल्पनामा डुब्न पुग्यौँ ।