बगिरहने बाल्यकाल

8:59 PM Posted In
 एकदिन म र मेरी दिदी अफिसमा बसेर चकचक गर्दै थियौं, त्यहाँका कर्मचारीहरू हामीलाइ माया गर्थे। एक्कासी आमा आएर हामीलाइ बोलाउनुभयो,’चित्रे! हेर त यो के हो?’ उहाँको हातमा यौटा सानो मूसा थियो जुन घरमा सफा गर्दा गर्दै भेट्टाउनुभएको थियो। उहाँले पुच्छर समाई त्यसलाई झुण्ड्याउनु भएको थियो, त्यो देखेर पहिले हामी छक्क पर्यौं अनि रोमान्चित भयौं। आमाले हामीलाई खेल्नका निम्ति उक्त मूसो दिनुभयो, हामीले त्यसलाई भुईंमा छोड्दा त्यो दौडिन्थ्यो तर सानो हुनाले धेरै दौडिन सक्दैनथ्यो र फेरी हामीले समात्थ्यौं। तर म आफैं पनि त सानै थिएँ, त्यसैले एकपल्ट चाँडै दौडेर समाउन भ्याइनँ र घर बाहिर रहेको दाउराको थुप्रोभित्र छिरेर हरायो। मैले र दिदीले मूसालाइ कति खोज्यौं तर भेट्न सकेनौं, अन्तमा हार मानेर छोडिदियौं।

धनकुटामा साँप पनि बेलाबखतमा आइरहन्थ्यो, हरेक पल्ट साँप आउँदा हल्लाखल्ला मच्चिन्थ्यो र हामी डराई डराई पनि हेर्न पुग्थ्यौं। एकपल्ट मानिसहरू चिच्याउँदै दौडधूप गर्न थाले,’मुद्दा फाँटमा साँप आयो, मुद्दा फाँटमा साँप आयो!!’ म घरबाट निस्केर यसो मुद्दा फाँट भन्ने कोठातिर चियाएँ। अफिसका कर्मचारीहरू कोही लट्ठि कोहि ड्न्डी लिएर जम्मा भएका थिए। केहीबेरको झम्टाझम्टीपछी एकजना मान्छेले लामो बाँसको लट्ठीमा यौटा बडेमानको मरेको सर्प झुण्ड्याएर बाहिर ल्यायो। त्यो सर्प देख्दा त मेरो मुटूको गति नै बन्द होला जस्तो भयो तर सर्प मरिसकेको थाहा पाएर सास आयो।

हामी कतै बाहिर घुम्न जाँदा विकट पहाडका उकाली ओरालीहरूमा दुई साना साना बच्चा लिएर हिंड्न आमालाइ कठीन पर्थ्यो त्यसकारण अफिसकि एक कर्मचारी हामीलाइ डोर्याएर र बोकेर सघाउनुहुन्थ्यो। हामी उहाँलाई ‘कमला दिदी’ भन्थ्यौं, तर मलाइ कमला दिदी भन्दा आफ्नै आमाले बोकेको रमाइलो लाग्थ्यो। कमला दिदी पनि भन्नुहुन्थ्यो,’चित्रे बाबु, मलाइ आज पेट दुखेको छ।‘
यो सुन्ने बित्तिकै म आमातिर फर्केर भन्थें,’मम्मी, कमला दिदीलाइ पेट दुखेको छ रे, तपाईं नै बोक्नुस् न!’
यो प्रसंग सम्झेर आमा अचेल पनि हाँस्नुहुन्छ।

हाम्रो घरमा यौटा रातो भाले पालेका थियौं, जुन भान्छाको पछाडिपट्टीको सानो झ्याल नजिकै बाँधेका थियौं। हामीसँग खेल्नको लागि प्लाष्टीकको यौटा ठूलो पुतली थियो। मैले एकदिन काम पाइनँ र भाले नजिकै गएर पुतली हल्लाउँदै तर्साउन थालें। भाले उफ्रिएर भाग्न खोज्थ्यो तर बाँधिएकोले भाग्न सक्दैनथ्यो, म झन् हाँस्दै भालेलाई पिट्नै थालें। एकछिनको संघर्षपछि खुट्टामा बाँधेको डोरी पनि चुँडियो र भाले त झ्यालबाट उडेर भाग्यो। लौ मार्यो! म त वाल्ल परें। यो थाहा पाई आमाले मलाइ हप्काउनु भयो। मैले सोचें अब त्यो भाले सधैंको लागि गयो, तर पछि पल्लो घरमा बस्ने आइमाइले भालेलाई समातेर घरमा दिन ल्याइन्। मेरो मन शित्तल भयो।

एकदिन धनकुटामा राजाको सवारी भयो। म र मेरी दिदी आमाको हात समातेर स्वागत गर्न गयौं। सेतो हेलिकप्टरको तेज गतिमा घुमिरहेको पंखा मलाई राम्रो लाग्यो। हेलिकप्टरबाट केही मानिस ओर्ले, अनि पंक्तिबध्द मानिसहरूले नमस्कार गर्न थाले। म र मेरी दिदीले आमाको एक एक हात समातेका थियौं, आमाले हाम्रो हात पनि छुटाउन भ्याउनु भएको थिएन ती व्यक्तिहरू अघि बढिसकेका थिए। घर आएर आमाले भन्नुभयो, ‘तिमीहरू दुबैजनाको हात समातेर बसेकिले मैले रानीलाइ नमस्कार पनि गर्न पाइनँ, अब पुलिसले मलाइ समात्न आउँछन्।‘
यो सुनेर म झस्किएँ, साँच्चिकै हो कि जस्तो लाग्यो मलाई।