यात्रामा तिमि... (खन्ड २)

10:26 PM Posted In

 सुर् न ताल्।(from here)
..... ठुलो बा आमाको न्यानो मायाँ र आतिथ्यता मा त्यो एउटा स्मरणिय साँझ बितेथ्यो इनरुवामा। इनरुवा - मेरो अर्थमा हेला मा परेको रमाइलो बजार।

बिहानै हामी धरानको बस चडेथ्यौं। इटहरीमा एक्छिन् ओर्लन पाइयो। ओर्लेर पानी पुरी किनेथ्यौं। खासै खान मन लागेर हैन। तिम्रो रहरले। पीरो चटपटे पनि खाइयो। आखिर कति पिरो भनेकि खप्न नसकेर तिमि भन्दै थियौ
-"कोक किन्नुस् न, कत्ति पिरो भयो।"
-"खाने बेलामा पिरो खानु पर्ने, अब के को कोक। भ्रिकुटी मन्डपमा पो तिमि सोल्टिनि थियौ र कोक पायौ। अहिले त उहि हो।"

-"के भ्रिकुटी मन्डप, के कोक, के सोल्टीनि? म तपाइँको केहि कुरा बुझ्दिन। कहिले कहिले को के के कुरा संझिने हो कुन्नी।"
मैले २ वटा pepsi खोलेथेँ। तिमिले सासै नफेरि पिएथ्यौ।

आधा घन्टामा बस इन्जिनियरिङ क्याम्पस हुदै धरान बस पार्क पुगेथ्यो। घोपा क्याम्प जान भनेर रिक्सामा चडेथ्यौं। पानी पर्न थाल्यो। रिक्साको छानोले थोरै मात्र छेक्ने। धेरै आफ्नै जिउमा। रिक्सावालाले कुरा निकाल्यो-
"घर कहाँ दाइहरुको?"
"दाइको पहाडतिर, बहिनिको यतै कता हो।" कुरा बंग्याएं।
"अनि ....!" उ दोस्रो प्रश्न गर्न अक्मकियो।
"मेरो घर भोजपुर। गाउँमा २ वटा छोराहरु छन्। यिनको घर यतै धरानमै हो। एउटी छोरिकि आमा। हामी बिहे गर्न लागेको। यो दोस्रो बिहे। दुबैको।"
त्यो रिक्सा चालक अलमल्ल पर्यो। नहुने ठाउँमा हात हालेछु कि झै मान्यो होला। तिमि आँखा तरिरहेथ्यौ। कस्तो सुर न तालको मान्छे होला। जे मुखमा आयो तेहि बोल्यो। लाज सरम केहि छैन। किन बिचरालाइ उल्याउनुपर्ने होला। आदि इत्यदि। म तिर्मो मनको भाव पड्न सक्थें। तर के गरौं। म यस्तै छु, सुर् न ताल्।

पुरानो घोपा क्याम्प अहिले बि पि मेमोरियल हस्पिटल बनिसकेको छ। रिक्सा गेटमा पुग्यो। हामी ओर्लियौं। ४० रुपैयाँ तिर्यौं र होटलतिर लागेथ्यौं। क्याम्प भित्र सितल छहारिहरुमा घुमिरहंदा १-२ चिनजानकाहरु पनि भेटिएथे र हामिलाई संगै देखेर अलमल्ल परेथे - सायद निमेसभरलाई। आखिर सबै कुरा त छर्लंगै थियो। तिमि रातो टीका र रातो सिन्दुरमा सजिएकि।

हातिसार क्याम्पस हुंदै बिजयपुर पुगेर बुढा सुब्बाको दर्सन गरियो। तिमि थाकि सकेकि छौ। तर मन रमाइलो छ। यिनि तिनै बुढा सुब्बा थिए जस्को मट्याँग्राको कथा हामिले इस्कुलमा पढेथ्यौं। मैले मनमनै "मेरि प्रिया सदियौं सम्म खुसि रहुन" भनेर प्रार्थन गरें। तिमि पनि गुनगुनाउंदै थियौ। थाहा छैन के माग्यौ। चौतारीमा एकैछिन् बसेर हामि पुन: ओरालो लागेथ्यौं - होटल तर्फ।

एउटा अर्को दिन यात्राको। बस धरानलाई तल सतहमा छाडेर उकालो लागेथ्यो। सुन्दर डाँडा-काँडा र जंगलहरु हुदै। सुन्दर चिल्लो सडक। सुर्यबहादुर ले बनाएको। बेलायती पैसामा। झ्याल बहिर हेर्दाको संसार्। स्वर्हिय आनन्द। मलाई रहर लाग्यो-
"हामी पछि आफ्नै कारमा आउनुपर्छ यो बाटो। कस्तो रमाइलो हुदोहो।"
"तपाईंको कार होला र आउँला भन्दै बस्यो भने त जिवन बित्ला नि।" तिमिले वास्तै गरिनौ।
"नत्र अर्कै जुनिमा आउँला नि त।"
"किन अर्को जुनि पनि तपाईंकै भएर थन्किन्छे भन्ठान्नु भा कि कसो?"
"ल ल अर्को जुनिमा हामि साथि साथि मात्र, घुम्न त मिलि हाल्छ नि, तेसरि पनि।"
"यहि जुनि को जिवन बोर भै सक्यो, म त लिन्न अर्को जुनि।"

बसले उकालो काटेर भेडेटार चुमिसकेथ्यो। ओर्लिएर मान्छेहरु नित्य कर्म तर्फ लागेथे। तिमि केटीहरुको हुलमा, म केटाहरुको। खुल्ला शौचालय। आकासको छानोमा। जंगलतिर फर्किएर। म चुइगम किन्दै थिएं। तिमि बस चडिसकेकि। बस गुड्न थालिसकेछ। हतार हतार दौडदै बस पक्डिएथें। अव ओरालो थियो। आँखा लोलायछन्। धेरै दिनको यात्राले होला। तिमि पनि निन्याउरि देखियौ। कतिवेला हो वस त धनकुटा काटेर हिले पुगिसकेछ। कस्तो नमज्जा। धनकुटा हेर्नै पाइएन।

म पाख्रिवास जाउँ भन्दै थिएं। तिमि मानिनौ। गलियो। साफ्फि। आजा हिले मै बस्ने रे। होटल खोजियो। औसत। पिरो आलु तामा र भात खाएर तुरुन्तै ढलियो। एकैछिनमा भुस। थकानले। राति कता कता केले टोकेझैं लागेथ्यो। साच्चिनै लाम्खुट्टेले टोके हुन्, AIT का र म पुन: कोल्टे फिरें हुँला, SV12A1 मा।

क्रमश