सम्झनाका खोकिलाहरुमा… मेरो दशैँ
8:57 PM Posted In लेखउफ्… यसपालीको दशैँमा पनि घर जान पाइएन । अरुबेला भन्दा चाडबाडको बेला घरको याद अलि बढि नै आउने रहेछ । यो दशैँ तेश्रो दशैँ हो परदेशमा एक्लै बिताउनुपरेको । आज महाअष्टमीको दिन, पर्सी त विजयादशमी । गाउँघरमा दशैँको रौनक छाएको होला । सयपत्रीहरु मुस्कुराएका होलान् । कति परदेशी दाजुभाइहरु दशैँ मनाउन घर फर्कदै होलान्, तिनीहरुको भीडमा मेरो छोरो पनि छ कि भन्दै आमाले पारी पाखाको ठाडो बाटोतिर आँखा ओछ्याउँदै हुनुहोला । मलाइ पनि त परदेशमा तिनै यादहरुले सताइरहन्छ । आमाको हातले बनाएको मल्खे खाएर औसेलु गैरातिर कुदेको, निधारमा टिका अनि कानमा पहेँला जमरा लगाएर पिङमा चचहुर्इर्इइ गरेको याद आउँदा मन त्यसै त्यसै भक्कानिन्छ, सँगी साथीहरु मिलेर हाँसखेल गरेको, रमाइलो गरेको याद आँखा वरीपरी घुम्छ, बिचरा आँखाहरु… त्यो दृश्य देख्दैनन् अनि पानी बनाएर पोखीदिन्छन् अतितका यादहरु… ।
नमुछे आमा…दहिमा टिका, नछरे जमरा…, दैबले पर्दा उठायो आमा.. आउँदीन फर्केर ।
मेरो माइलो भाइले यो गीत खुबै राम्रो सँग गाउँथ्यो । पाँच छ वर्षपहिले दशैँको बेला, साँझमा डाँडाको चौतारीमा बसेर दाजुभाइले यो गीत गुनगुनाएका थियौँ, आज फेरी यो चाडले त्यो दिनको झझल्को गरायो । त्यसपछि भाइ पनि परदेशमा म पनि परदेशमा, पोहोर साल त उ दशैँमा छुट्टी मिलाएर घरमा गएको थियो, यसपाली भने घरपनि सुनसान… मन पनि सुनसान… शायद भाइले पनि परदेशबाट ती दिनहरु सम्भिmरहेको होला । डिल्लीराम, बाबुराम, रामप्रसाद बासुदेब, गणेश सहित भएर दशैँमा पिङ बनाउन चन्दनका लाथ्रा बोकेको… तिहारमा तातो तातो सेलरोटी खाँदै ढिक्लाको ओरालोमा अँधेरी रातमा लड्दै र पड्दै देउसी खेल्न गएको हिजो जस्तो लाग्छ, समयचक्र घुमीसकेछ…. थाहा छैन, अब फेरी त्यस्तै दिनहरु फेरी आउने हुन् कि हैनन् ।
जहिले पनि घरमा फोन गर्दा, आमाले सोधिहाल्नुहुन्छ, “बाबु तिमी कहिले आउँछौ ?” आमाको यो सदाबहार प्रश्नको सहि उत्तर दिन मलाइ साह्रै गाह्रो हुन्छ । हुन पनि म घर जानको लागी कति कोशिस गरेँ, भनेको समयमा कम्पनीबाट कहिल्यै छुटि्ट मिल्दैन । हजुरआमा त झन् फोन गर्यो कि रुन थाल्नुहुन्छ, “अर्को सालको दशैँसम्म बाँच्ने हुँ कि हैन, यसपाली त दशैँमा आउ है बाबु भन्नु भएको…” वहाँको इच्छा यसपाली पनि पुरा गर्न सकिन, मनमनै धिक्कार लागीरहेछ । पोहोरसाल भाइ घरमा गएकोले केही थामिएको वहाँहरुको मन, अहिले दुइ भाई छोरा परदेशमा हुँदा हामीलाइ सम्झेर रोइरहेको होला ।
हुन त कान्छो भाइ घरमै छ, अब त उ चौध पन्ध्र वर्षो तन्नेरी पनि भयो, तरपनि उसको केटाकेटी पन र चकचके बानी अझै हराएन । आमालाइ हर कुरामा जिद्धि गरेर सताउनु र पैसा मागेर हैरान पार्ने त होला नि, तैपनि कमसेकम एउटा छोरा घरमै त छ, आमा अनि हजुरआमाले… चित्त बुझाउनुहोला नि ।
यसपालीको दशैँमा घर आउन नपाएपनि.. अर्को साल सँग सँगै दशैँ मनाउने प्रण मनमनै गरीरहेछु । आफ्नो घर, परिवार, साथीभाइ, इस्टमित्रबाट टाढा हुनुपर्दाको पिडा अरुका शब्दमा पढ्नु र आफैँले भोग्नुमा आकास पातालको फरक हुने रहेछ । अब त रहर पुग्यो आमा परदेशको पनि, आउँछु म आफ्नै देशमा । आधा पेट खानुपरेपनि, फाटे टालेको लाउनुपरेपनि… परीवारसँग सँगै बसेर हाँसखेल गरेर चाडबाड मनाउनुको आनन्द परदेशमा जति खोजे पनि पाईदो रहेनछ , पैसा बगाउनेहरुले त पाउँदैनन् रे… हामी पसिना बगाउनेहरुले झन् कहाँ पाउनु ?!